नियमनको बहानामा सहकारी धरासायी बनाउन खोजे नियामक निकाय घेराउ गर्छौँ: मिश्रीलाल सहनी

बारा, कलैया। “नियमनका नाममा नियन्त्रण र अंकुश लगाएर राज्यले सहकारी अभियानलाई समाप्त पार्न खोज्दैछ,, त्यसो नगर्न ” नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका सञ्चालक तथा साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रीलाल सहनीले चेतावनी दिएका छन्। बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १८, बडहर्वास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको २४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष सहनीले सरकारी रबैयाविरुद्ध आन्दोलन र नियामक निकायका कार्यालयहरू घेराउ गर्न तयार रहेको घोषणा गरे।

उद्घाटन मन्तव्यका क्रममा अध्यक्ष सहनीले सञ्चालक र कर्मचारीको योग्यता तोक्ने, ब्याजदरमा लगाम लगाउने र विश्वमै नभएको नवीकरणको झन्झट थपेर स्वायत्त क्षेत्रलाई सिध्याउने खेल भइरहेको आरोप लगाए । उनले भने, “कमजोर, विपन्न र महिलाको क्षमता विकास तथा ग्रामीण अर्थतन्त्र उकास्न र लाखौँ रोजगारी सिर्जना गर्न सहकारीको अहम् भूमिका छ। गलत गर्नेलाई हदैसम्मको कारबाही होस्, एकद्वार प्रणाली बनोस्; तर अनेक क्षेत्रको दबाब दिएर सहकारीको योगदानको अवमूल्यन गर्ने छुट राज्यलाई छैन।”

संस्थाको उच्च प्रशंसा

कार्यक्रममा जितपुरसिमरा वडा नं. १८ का अध्यक्ष चतुरबाबु वाग्लेले मनहर्वा साना किसान सहकारीको प्रशंसा गर्दै राज्यको ध्यान नपुगेका ठाउँमा सहकारीले स्रोत-साधनको परिचालन, रोजगारी सिर्जना, कृषि उत्पादनको बजार ग्यारेन्टी र मानवीय जीवनका अनेक चरणमा  सहकारीले काम गरिरहेको बताए ।

सभामा साना किसान कृषि सहकारी इनर्वासिराहकी अध्यक्ष संजिला खातुन, कोल्हबी सपहीका प्रबन्धक अरुण कुमार चौधरी तथा सेवाकेन्द्र समिति सदस्य रोसा खातुन सहितका वक्ताहरूले संस्थाको सफलतामा सदस्यहरुको विश्वास र ईमान्दारीता ,संचालकहरुको कार्यकुशता र प्रतिबद्धता सहित भुमिकाको चर्चा गरे ।

शेयरधनीलाई १३% लाभांश, हरैया साना किसानसँग एकीकरण हुने

४ हजार ४ भन्दा बढी सदस्य र ९६ करोड रुपैयाँभन्दा बढीको विशाल कारोबार गर्दै आएको मनहर्वा साना किसानले आफ्ना शेयरधनीहरूलाई १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

साधारण सभाका मुख्य उपलब्धि तथा स्वीकृत प्रस्तावहरू:

  • उच्च प्रतिफल: आ.व. २०८२/०८३ को मुनाफाबाट १३% लाभांश र नियमानुसार संरक्षित पूँजीकोष फिर्ता गर्ने।
  • संस्थागत विस्तार: हरैया साना किसान कृषि सहकारीसँग एकीकरण (Merge) गर्ने र विनियम संशोधन प्रस्ताव पारित।
  • सम्मान र प्रोत्साहन: उत्कृष्ट बचतकर्ता, ऋण कारोबारी, पशुपालक, तरकारी व्यवसायी तथा असल अन्तर-समूह गरी ३ दर्जनभन्दा बढी सदस्यलाई पुरस्कृत।
  • बहुआयामिक सेवा: दुग्ध सङ्कलन, बीउ प्रशोधन उद्योग, कस्टम हायरिङ, कृषि बीज भण्डार तथा निःशुल्क कृषि र पशु प्राविधिक सेवालाई थप विस्तार गर्ने।

जितपुरसिमरा र कलैया उपमहानगरपालिकाका करिब एक दर्जन वडाहरूमा सेवा विस्तार गरिसकेको यस संस्थाको २४ औँ साधारण सभा अध्यक्ष नयनकला खड्काको अध्यक्षता, उपाध्यक्ष श्यामता कुमारीको स्वागत र मुख्य प्रबन्धक पुष्पराज खतिवडाको सञ्चालनमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *